अर्जुन ट्रफीको उपाधि सिवाइसी अत्तरिया लाई

धनगढी-कैलालीको धनगढीमा आज सम्पन्न भएको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सिवाइसी अत्तरियाले जितेको छ । धनगढीको फाप्ला मैदानमा भएको फाइनल खेलमा फ्रेन्ड्स क्लब डडेल्धुरालाई ३४ रनले पराजित गर्दै सिवाइसी अत्तरियाले उपाधि आफ्नो पोल्टामा पारेको हो ।
उपाधिसंगै अत्तरियाले नगद १० लाखसहित ट्रफी प्राप्त गरेको छ । डडेल्धुराले नगद पाँच लाखमा चित्त बुझाएको छ ।
फाइनल खेलमा टस जितेर सिवाइसी अत्तरियाले ब्याटिंग रोजेको थियो । पहिलो ब्याटिंग गर्दै अत्तरियाले एक सय १९ रनको लक्ष्य दिएको थियो भने त्यस लाई पछ्याएको डडेल्धुरा १८ ओभरमा ८४ रनमा समेटियो । डडेल्धुराका लागि गजेन्द्र बोहराले २४, कुशल भुर्तेलले २० र अशोक धामीले ११ रन बनाए । डडेल्धुराका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । अत्तरियाका शहाव आलम र दिपेश कडेलले तीन–तीन विकेट लिए । कमल गुप्ता र विवेक यादवले दुई–दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा नौ विकेटको क्षतिमा एक सय १८ रन बनाएको थियो । अत्तरियाका लागि रासिद खानले ३१ रन बनाए । यस्तै, सन्तोष कार्की र शंकर रानाले समान २०–२०, सन्दीप क्षेत्रीले १२, विवेक यादवले ११ र भीम सार्कीले १० रन बनाए । डडेल्धुराका लागि अभिषेक गौतमले चार विकेट लिए । यस्तै अजय चौहान र कुशल भुर्तेलले एक–एक विकेट लिए । अत्तरियाका तीन खेलाडी रन आउट भएका थिए । अत्तरिया प्रतियोगिताभर अपराजित रहदै च्याम्पियन बनेको हो ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०–५० हजार प्रदान गरिनेछ ।

You might also like