
डडेल्धुरा–सुदूरपश्चिम प्रदेशमा भ्रष्टाचार र आर्थिक अनियमितता बढेसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयमा उजुरीको चाङ लाग्न थालेको छ ।
आयोगको महेन्द्रनगरस्थित कार्यालयमा भ्रष्टाचारविरुद्ध उजुरी दिनेहरू बढ्दै गएको पाइएको छ । चालु आर्थिक बर्षको हालसम्मको अवधिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयमा कुल चार सय ९७ उजुरी दर्ता भएका छन ।
चालु आर्थिक वर्ष २०८१/०८२ को सुरुवातमै गत साउन महिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क
कार्यालय महेन्द्रनगरमा ३६ वटा भ्रष्टाचारसम्बन्धि उजुरी दर्ता भएको कार्यालयले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार गत भदौ महिनामा ८३ वटा उजुरी दर्ता भएका छन । मासिक हिसाबले भदौ महिनामा दर्ता भएका उजुरीहरुको संख्या सबैभन्दा बढि देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका सूचना अधिकारी चेतराज भट्टले जानकारी दिए । यसैगरि, गत असोज
महिनामा ५१, कार्तिकमा ५९ र मंसिर महिनामा ४६ वटा उजुरी दर्ता भएको अख्तियार दुरुयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयले जनाएको छ ।

चालु आर्थिक बर्षको पुस मसान्तसम्म कुल ८१ वटा उजुरी दर्ता भएको र माघ महिनाको हालसम्मको अवधिमा कुल ६३ उजुरी दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका सूचना अधिकारी भट्टले बताए । भ्रष्टाचारीबिरुद्ध कारबाही प्रक्रिया तीव्र पारिएको र उजुरी प्रक्रियालाई सहज बनाएकाले अख्तियारमा उजुरी गर्नेको संख्या बढेको सो कार्यालयले
जनाएको छ ।
आर्थिक अनियमितता र भ्रष्टाचारबिरुद्ध उजुरीका लागि अख्तियारको कार्यालयमै पुगेर उजुरी दिनेभन्दा अन्य माध्यमबाट दिने उजुरीको संख्या बढी देखिएको सूचना अधिकारी भट्टले जानकारी दिए । अख्तियारले सबै माध्यमबाट उजुरी स्वीकार गर्ने तथा पहिचान नै नखोलेर उजुरी दिने व्यवस्था मिलाएकाले इमेल, हुलाकमार्फत, स्थानीय प्रशासनमार्फत र प्रत्यक्ष रूपमा
कार्यालयमा पुगेर दिइने उजुरीको संख्या बढेको हो ।
अख्तियारमा उजुरीको चाङ लाग्दै गए पनि उजुरी फस्र्योट भने अपेक्षित रूपमा हुन नसकेको अख्तियारकै कर्मचारीहरु स्वीकार्छन । सुदूरपश्चिम प्रदेशका नौवटै जिल्ला हेर्ने जिम्मेबारी पाएको अख्तियारको सम्पर्क कार्यालय महेन्द्रनगरमा सीमित जनशक्ति हुँदा उजुरीको फस्र्योटमा समय लाग्ने गरेको भए पनि धमाधम उजुरीमाथि अनुसन्धान गरेर फच्र्यौट गर्ने काम भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगर कार्यालयका प्रमुख माधवप्रसाद पोखरेलले
जानकारी दिए ।

सुदूरपश्चिममा अधिकांस उजुरीहरु स्थानीय तहबिरुद्ध दर्ता भएका छन । जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा स्थानीय तहका काम कारवाहीमा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने क्रम बढेको हो । विकास निर्माणदेखि खरिद प्रक्रियासम्ममा भ्रष्टाचार भएको उजुरीमा उल्लेख गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगर कार्यालयले जनाएको छ ।