बडिमालिका क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागिजय श्री बडिमालिका वृत्तचित्र प्रदर्शन

काठमाडौ- सुदूर पश्चिम र कर्णाली प्रदेशलाई धार्मिक, साँस्कृतिक, साहसिक र स्वास्थ्य पर्यटीय गन्तव्यस्थलको रुपमा विकसित गर्नुपर्ने उद्देश्यका साथ निर्माण गरिएको जय श्री बडिमालिका वृत्तचित्र काठमाडौमा एक कार्यक्रमका बीच प्रदर्शन गरिएको छ ।
त्रिवि ग्रामिण विकास केन्द्रीय विभागका उपप्राध्यापक डा. राजन विनायक पासा र एमफिल तहका शोधार्थी रोशनप्रसाद श्रेष्ठको संयुक्त प्रयासमा निर्माण गरिएको थियो । उक्त वृत्तचित्रमा श्री बडिमालिका पुजाको पन्ध्र दिने सरकारी पेटारो लैजाने विधिवत पूजासहित धार्मिक यात्राको छायाँकन गरी प्रदर्शन गरिएको छ ।
बाजुरा जिल्लामा रहेको बडिमालिका क्षेत्रमा हुने १५ दिने सो धार्मिक यात्रामा डोटीको सरकारी टोलीले १५ दिन, जुम्लाको सरकारी टोलीले ९ दिन, कालिकोटको सरकारी टोलीले ५ दिन र बाजुराको सरकारी टोलीले ४ दिनको पैदल यात्रा गरी विधिवत बडि पुजा गर्ने धार्मिक परम्परालाई वृत्तचित्रमा चित्रित गरिएको छ ।


कार्यक्रमका प्रमुख अतिथि तथा पूर्व प्रधानन्यायाधिश विश्वम्भरप्रसाद श्रेष्ठले बडिमालिका क्षेत्रको जानकारी लिन चाहने पक्षलाई सन्तुष्ट दिने खालको वृत्तचित्र निर्माण भएको पाउँदा आफुलाई पनि गौरवान्वित गरेको धारणा व्यक्त गर्नुभयो । उहाँले वृत्तचित्रले धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान गर्न सक्ने बताउनु हुँदै अनुसन्धानकर्ताले दिएका पृष्ठपोषणलाई सम्बन्धित निकायहरुले ध्यानाकर्षणको रुपमा लिनुपर्ने बताउनु भयो । उहाँले सरकारको तर्फबाट यस्तो कार्य भए ठुलो बजेट खर्च हुने तर विद्यार्थीको इच्छाशक्तिले विश्वविद्यालयले मितव्ययि तरिकाले भौगोलिक, धार्मिक, रहनसहन, संस्कृति, संस्कारको समेत पहिचान दिलाउने गरी महत्वपूर्ण वृत्तचित्र निर्माण भएको आफुले पाएको बताउनु भयो ।


देशका विभिन्न धार्मिक स्थलहरुको संरक्षण र प्रवद्र्धन राज्यले गर्नुपर्ने बताउँदै वृत्तचित्रका निर्देशक उपप्राध्यापक पासाले बडिमालिका देवीको धार्मिक महत्व बाजुरा जिल्लाको मात्र नभई सिँगो देशको बडिमालिका रहेको र यो केबल वृत्तचित्र मात्र नभएर अनुसन्धानमा आधारित वृत्तचित्र निर्माण गरेको बताउनु भयो । उहाँले कर्णाली र सुदुर पश्चिमको कनेक्सन क्षेत्र भएकोले बडिमालिका क्षेत्रमा धार्मिक पर्यटन प्रवद्र्धन गर्न सके सो क्षेत्रको पर्यटन प्रवद्र्धन हुनुका साथै जनजीविकाको क्षेत्रमा त्यस क्षेत्रका जनताको जीविकोपार्जनमा समेत यसले टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो ।


कार्यक्रममा विशेष अतिथि बाजुरा जिल्लाबाट संसदमा प्रतिनिधित्व गर्नुहुने नेता कर्ण थापाले अनुसन्धान कार्यमा विकल्पविहिनताको कल्पना गर्न नहुने धारणा व्यक्त गर्नुहुँदै श्रुतिका आधारमा मात्र नभई प्रमाणका आधारमा बडिमालिकालाई बुझ्न वृत्तचित्र महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सिँहदरबार र विश्वविद्यालयबीच विषयकेन्द्रीत रुपमा सौहार्दपूर्ण समन्वय र सहकार्य जरुरी भएको बताउनु हुँदै विश्वविद्यालयले गर्ने अध्ययन अनुसन्धानको निष्कर्शलाई सरकारले अनुसरण गरी कार्यान्वयनमा लैजाने वातावरण बनाउन सक्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।


कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै शोधार्थी रोशनप्रसाद श्रेष्ठले आफ्नो शैक्षिक अध्ययनको क्रममा आफ्नो क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखेर आफुले सरकारी पेटारो लैजाने गत श्रावण २१ गतेदेखि भएको पन्ध्र दिने धार्मिक यात्रामा सहभागी भई प्रत्यक्ष अनुसन्धानबाट शोध कार्य गरेको र सो शोधकार्यको क्रममा गरिएको अनुभवलाई वृत्तचित्रमा उतारेको बताउनु भयो ।
उक्त वृत्तचित्र प्रदर्शन कार्यक्रमको अध्यक्षता वृत्तचित्र निर्देशक तथा त्रिवि ग्रामिण विकास केन्द्रीय विभागका उपप्राध्यापक डा। पासाले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण संचारकर्मी दुर्गाराज पाण्डेले गर्नुभएको थियो ।

You might also like