डडेल्धुरा–पछिल्लो समय डडेल्धुरा जिल्लाकै व्यवस्थित र नमुना सामुदायीक विद्यालय मानिने डडेल्धुराको भित्रिमधेस क्षेत्र परशुराम नगरपालिका–५ स्थित श्री भुवनेश्वरी नमुना माध्यामिक विद्यालय परिगाउँका नाममा जग्गाधनी प्रमाण पुर्जा छ, विद्यालयले बर्षेनी मालपोत तिर्दै आएको छ तर आफ्नै स्वामित्वमा रहेको जग्गा चलनभोग भने गर्न पाएको छैन ।
विद्यालयको नाममा रहेको जग्गाधनी प्रमाण पत्र हेर्ने हो भने कुल एक सय ३४ कित्ताको ८ विगाहा जमिन विद्यालयको नाममा छ तर विद्यालयले आफ्नै स्वामित्वमा रहेको जग्गाको उपभोग त परै जाओस कुन कित्ताको जमिन कहाँनिर छ भनेर दुरविन लगाएर खोज्नु पर्ने अवस्था आएको छ ।
२०३२ साल मंसिर ४ गते स्थापना भएको विद्यालय हाल भवन तथा खेलमैदान समेत गरेर कुल तीन विगाहा क्षेत्रफलमा फैलिएको छ जुन जमिन विद्यालयको नाममा रहेको १३४ कित्ता मध्ये २ कित्ता जमिन मात्रै हो । बाँकी एक सय ३२ कित्ताको पाँच विगाहा क्षेत्रफल जमिन विद्यालयले उपभोग गर्न पाईरहेको छैन ।
साविक रुपाल गाउँ पञ्चायत र हाल भागेश्वर गाउँपालिकामा रहेको डडेल्धुराकै पुरानो मध्ये एक मानिने अशिग्राम माध्यामिक विद्यालयलाई हाल परिगाउँ भनेर चिनिने ठाँउको पुरै जमिन एकजना शिक्षासेवीले दान गरेको भन्ने ईतिहास छ । अशिग्राम माध्यामिक विद्यालयलाई दानबाट प्राप्त भएको जमिन प्रति विगाहा रु तीन हजारका दरले एक सय ३२ जनालाई बिक्री गरिएको अशिग्राम माध्यामिक विद्यालयका सहायक प्रअ तारिसिँह जोरा बताउछन ।
त्यसपछि परिगाउँबासीले विद्यालयलाई जमिन आवश्यक पर्ने निष्कर्ष निकालेर आफुले किनेको जमिन बाट चार बिगाहा बराबर १ रोपनीका दरले भुवनेश्वरी नमुना माध्यामिक विद्यालयको नाममा नामसारी गर्ने गरी जमिनको नाप अनुसार जमिनको अंश विद्यालयको नाममा गरिएको स्थानीय जानकारहरु बताउछन ।
अशिग्राम माध्यामिक विद्यालयबाट सुफथ मुल्यमा खरिद गरिएको जमिनमध्ये भुवनेश्वरी नमुना माध्यामिक विद्यालयका नाममा उपलब्ध गराइएको जमिनको स्वामित्व मात्रै विद्यालयसँग छ । विद्यालयको स्वामित्वमा रहेको जमिन हाल एक सय ३२ जना स्थानीयले उपभोग गरिरहेको भवनेश्वरी नामुना माध्यामिक विद्यालय परिगाउँले जनाएको छ । विद्यालयको स्वामित्वमा रहेको जमिन उपभोग गरिरहेका स्थानीयले त्यसवाफतको केही रकम मात्र भए पनि विद्यालयलाई दिने गरेमा एकातिर विद्यालयको जमिन सुरक्षित हुने र अर्काेतर्फ विद्यालयलाई आर्थिक रुपमा सहयोग हुने विद्यालयका शिक्षक नरेन्द्रबहादुर शाही बताउछन् ।
१३२ वटा टुक्रे जमिनलाई एकमुष्ट बनाउन विद्यालयले गरेको प्रयास नीतिगत समस्याको कारण सफल हुन सकिरहेको छैन । विद्यालयको तर्फबाट २०७२ सालमा शिक्षा मन्त्रालयसम्म फायल पेश गरिएको छ तर सकारात्मक नतिजा आउन सकेको छैन ।
विद्यालयको नाममा रहेको १३२ कित्ता जमिनको वार्षिक दस हजार भन्दा बढि मालपोत तिरिरहेको र विद्यालयको नाममा एकमुष्ट जमिन भइदिएको भए धेरै कुरा गर्न सकिने विद्यालयका प्रधानाध्यापक डम्बरसिँह थ्वाल बताउछन् ।
विद्यालयको नाम रहेको चल तथा अचल सम्पतिको स्वामित्व तथा खरिद तथा विक्रि गर्न नेपालको विद्यमान कानुन बाधक भएकले सम्पतीको सही सदुपयोग गर्न नसकिएको विद्यालयले जनाएको छ । सकारात्मक परिवर्तनका लागी विद्यमान कानुनमा संसोधन आवश्यक रहेको पत्रकार राम धामी बताउछन ।
विद्यालयले आफनो नाममा रहेको टुक्रे जमिन सम्बन्धित दातालाई विक्रि गरेर नयाँ ठाँउमा एक मुस्ट जमिन खरिद गर्न चाहन्छ तर नेपालको कानुनमा एक पटकमा २५ प्रतिसत मात्र जमिन बेच्न पाउने र यसको लागी पनि मन्त्रिपरिषदले निर्णय गर्नु पर्ने प्रावधान रहेकोले भुवनेश्वरी नमुना माविले आफनो नाममा रहेको जमिनको समुचित प्रयोग गर्न पाईरहेको छैन ।