छोटो बाटो “रारा”

“सुन्दरताको भण्डार सारा, के खनाया यसैमा राराकी अप्सरा” राराको सुन्दरतामा आधारीत रहेर म.बि.बि.शाह बाट २०२० साल तिर रचना गरिएको यि पक्तिहरुले राराको सुन्दरता लाई साच्चैको न्याय दिएको भान हुन्छ ।


पहिलो पटक २०७४ जेष्ठ ८ गते रारा पुगेको म २०८० मा २ पटक रारा पुगे । २०७४ सम्म रारा सपना ठुलो थियो अनि कता कता मनमा संका पनि लागी रहन्थ्यो कतै रारा घुम्ने योजना अधुरो हुने त होईन ? तर जहाँ ईच्छा त्यहाँ उपाय गत वर्ष एक पटक होईन दुई पटक पुगियो रारा ।
तल कर्णाली नदी अनी नदी संगै जोडिएको एकदमै साघुरो मृत्यु मार्ग जस्तो देखिने कर्णाली राजमार्गमा पछिल्लो समय निकै सुधार आईसकेको रहेछ ।

रारातालमा घोडचडी

जाने बुझे सम्म रारा जानको लागी सबै भन्दा धेरै प्रयोग हुने रुट भनेको नेपालगंज बाट सुर्खेत, दैलेख , कालीकोट, जुम्ला हुदै मुगु को बाटो हो भने भाग्यमानीहरु नेपालगंज देखी मुगुको ताल्चा सम्म हवाई यात्रा गरी रारा पुग्ने गर्दछन ।
कोही कोही नेपालगंज देखी बाजुराको कोल्टी सम्म हवाई यात्रा गरी रारा पुग्ने गर्दछन र अलि रामै्र टे्रकिंगका शौखिनहरु बाजुरा जिल्लाको कोल्टि हुदै बाजुराकै हिमाली गाउँपालिका वाट मुगुको खत्याड गाउँपालिकाको बाटो पनि रारा सम्म पुग्ने गर्दछन् ।

मुर्माटप बाट देखिने राराको दृश्य

मेरो पहिलो र दोश्रो यात्रा डडेल्धुरा बाट डोटी, अछाम, दैलेख, कालीकोट , जुम्ला हुदै मुगुको रारा सम्म भएको थियो भने तेश्रो यात्रा डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बाजुराको कोल्टी हुदै मुगुको खत्याड गाउँपालिका र त्यहाँ बाट जुम्लाको गोठीज्यूला हुदै मुगु सम्मको नयाँ रुट प्रयोग गरेको थिए ।
डडेल्धुरा देखी डोटी अछाम, दैलेख हुदै जाने हो भने रारा सम्मको एकतर्फि दुरी हाराहारी ४०० कि.मि.हुन्छ । अछामको मंगलसैन बाट ठुलासैन हुदै अछाम र दैलेखको सिमा बेलखेत सम्म मध्यपहाडी राजमार्गको चौडा सडकमा रमाईलो यात्रा गर्न सकिन्छ जहाँ बाट कालिकोटको सदरमुकाम मान्म बजार जम्मा ५० किमिको दुरीमा रहेको छ ।


मान्मबजार वाट नाग्माबजार सम्मको जम्मा दुरी ५० कि.मि.को हुन्छ जुन जम्ला र कालिकोटको सिमानाहो र त्यही बाट राराको लागी बाटो छुटिन्छ ।
खस भाषाको उत्पतीस्थल भनेर जुम्लाको सिंजा उपत्यका लाई बिचमा चिरेर बगीरहेको हिमा नदीको तिरैतिर ९३ कि.मिको धुलाम्मे तथा कतैकतै बलौटे माटो सहितको बाटोमा पनि धेरै सुधार आईसकेछ ।

पिरेखोला भिरमा पंक्तिकार

गोठिज्यूला बाट केही अघी पुगे पछि आउने अजंगको पिरेखोला भिरमा पुगे पनि जो कोहीको सातो जान्थ्यो । एक छिन टोलाएर यस्तो भिरमा बाटो कसरी काटे होलान भनेर टोलाउने गर्दथे तर आजभोली त्यो भिरमा पनि बाटो सुधार भएको रहेछ ।
रारा नजिकैको सल्लेरीमा होटेल तथा रिसोर्टहरु खुलेकाछन् । रारा ताल परिसरमा मात्र दुई वटा होटेलहरु थियो अहिले त मुर्माटपमा समेत होटेलहरु खुलीसकेछन् ।
५ कि.मि. लम्वाई अनी ३ कि.मि.चौडाई र १६७ मिटर गहिराईको रारा ? निर्मल पानीमा खेलीरहेका लेकाली असला जातका माछाहरु त्यस्तै तालमा बोटिंग गर्नुको मजा बेग्लै हुन्छ रारामा ।


रारा राष्ट्रिय निकुञ्जको मुख्य आकर्षण हो रारा ताल यसका साथै विभिन्न प्रजातीका फुलहरु , विभिन्न प्रजातीका चराहरु, विभिन्न जडिबुटिहरु निकुञ्जको आकर्षण हो यि बाहेक रारा पुगेपछी छुटाउनै नहुने गन्तब्य भनेको “मुर्माटप” रहेछ ।

You might also like
Leave A Reply

Your email address will not be published.