डडेल्धुराका गुमनाम धर्मशालाहरु

डडेल्धुरा जिल्लाको कुल भूभागको करिब ७५।०६ प्रतिसत भुभाग वन क्षेत्र छ । जिल्लाको कुल वन क्षेत्र मध्ये ४६ प्रतिसत जति वन महाभारत वन क्षेत्रमा पर्दछ । टाढाबाट झट्ट हेर्दा हामी वन मात्र देखिरहेका छौ, तर महाभारत वन क्षेत्र केवल वन मात्र नभएर हाम्रो जीवन रेखा हो । महाभारत वन हाम्रो बर्तमान र भविष्य हो र हाम्रो इतिहास पनि हो । महाभारत वन क्षेत्रमा पुर्खाको नासो बोकेर जीर्ण अबस्थामा रहेका गुमनाम धर्मशालाहरु संरक्षणको पर्खाईमा छन ।
“तेलेको धर्मशाला, रामशिलाको पानी” यो हरफ सुदूरपश्चिमेलीहरुको जनजिव्रोमा धेरै पहिलेदेखि झुण्डिएको लोक गीतको हरफ हो । यहाँको हरेक चाडपर्वमा गाईने डेउडा गीतमा धर्मशाला र रामशिलाको पानीको चर्चा हुने गरेको छ । यो लेखमा हाम्रो इतिहासमा महत्वपूर्ण भूमिका रहेको तर आजको युवा पुस्ताले झन्डै बिर्सिसकेको, इतिहासमा सिमित रहेका तिनै गुमनाम धर्मशालाको बारेमा प्रस्तुत गर्ने जमर्को गरेको छु ।


सुदुरपश्चिमका अधिकांस पहाडी जिल्लाहरुमा धर्मशाला बनाएर किर्ती राख्ने लोक संस्कृति रहे पनि डडेल्धुराको महाभारत वन क्षेत्र अन्तर्गतको तेलेको लेक क्षेत्रमा रहेका धर्मशालाहरुले सिंगो सुदूरपश्चिम प्रदेशको ऐतिहासिक विरासत बोकेका छन । डडेल्धुराको महाभारत पर्वत श्रृंखला अन्तर्गत पर्ने तेलेको लेक सुदूरपश्चिमका अधिकांस पहाडीबाट पैदल यात्रा गरेर तराई झर्ने परम्परागत पैदल मार्ग हो ।
हाम्रा पुर्खाहरुले हप्तौ लगाएर लेलेको लेकहुँदै तराई पहाडको यात्रा तय गर्ने गर्दथे । त्यसैले पनि यस क्षेत्रमा धेरै धर्मशालाहरु निर्माण भएका हुन । सुदूर पहाडका बासिन्दाहहरु चिसो छल्ने क्रममा आफुसंग भएका पशुपंछीसहित स¬परिवार पहाडबाट तराई झर्दथे । तत्कालिन समयमा ब्रम्हदेवमण्डीबाट नुनलगायतका खाद्य सामाग्रीहरु यही बाटो भएर पहाडी जिल्लासम्म ल्याउने गरिन्थ्यो । यहि बाटो भएर भारत पस्नेहरु पनि हिड्ने हुँदा यो बाटोमा धेरै धर्मशाला निर्माण भएको बुढापाकाहरु बताउने गर्दछन ।
पैदलयात्रीहरुको लागी बास बस्न सहज होस भन्ने हेतुले तत्कालीन समयमा आफना आफन्तहरुको सम्झनामा धर्म र यश किर्ति कमाउन बास बस्न सकिने ठाँउमा धर्मशाला बनाउने प्रचलन थियो । परिष्कृत डोटेली समाजमा धर्मशाला बनाउने कार्यलाई सामाजिक उत्तरदायित्वको नमुना मान्न सकिन्छ । केहि बर्ष पहिलेसम्म सुदुरपश्चिमका धेरै स्थानहरुमा पुराना धर्मशालाहरु देखिने गरेको भए पनि भौतिक पुर्वाधारहरुको तिव्र विकाससंगै प्राचीन धर्मशालाहरुको अस्तित्व संकटमा परेको छ ।


महाभारत क्षेत्रमा रहेका प्राचिन धर्मशालाहरुको जीवन्त रुप अझै हेर्न सकिन्छ । डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–३ स्थित प्रसिद्ध घटालस्थान क्षेत्रबाट सुरु हुने यो पैदल मार्गमा घटालस्थान क्षेत्र र त्यो भन्दा वर विरखम्ब बस्तीबाटै पुराना धर्मशालाहरु देख्न पाईन्छ । पुराना तथा कलात्मक धर्मशालाहरुले त्यति बेलाको सामाजिक कार्यसँगै मौलिक कला प्रस्फुटन गरिरहेको देख्न सकिन्छ । घटालस्थानबाट निङ्गलाड हुँदै परशुराम नगरपालिकाको कलेना बस्तीसम्म पुग्दा मात्रै धेरै धर्मशालाहरु देख्न सकिन्छ । यद्यपि, नियमित जिर्णोदारको अभाव र सडक निर्माणको क्रममा कतिपय धर्मशालाहरु भत्किएका छन ।

प्राचीन पैदल मार्गमा देखिने सबैभन्दा नयाँ धर्मशाला अमरगढी नगरपालिका–३ चिरिकिट्टेमा छ । चिरकिट्टेमा निर्मित धर्मशालाको इतिहास पनि करिव ८० देखि ८५ बर्ष भन्दा पुरानो मानिन्छ । यस हिसावले तेले लेक क्षेत्रमा हाल अश्तित्वमा रहेका अन्य धर्मशालाहरुको इतिहास १५० देखि २०० बर्ष पुरानो हो भनेर सजिलै अनुमान गर्न सकिन्छ । इतिहासकारहरुले भने तेले लेक क्षेत्रमा पाँच सय देखि आड सय बर्ष पुराना धर्मशालाहरु रहेको दाबी गर्दै आएका छन ।
डडेल्धुरा सदरमुकामको रानीधारा नजिकै रहेको प्राचित धर्मशाला र किरमडे क्षेत्रमा रहेका धर्मशालाहरु हाल अश्तित्वमा छैनन् । डडेल्धुरा सदरमुकामबाट नजिकै रहेको धर्मशाला बिरखम्ब गाउँमा छ भने तेले लेक पदमार्गमा घटालस्थान नजिकै रहेको पथरोडास्थित धर्मशाला पहिलो धर्मशाला हो । प्राचीन पैदल मार्गमा हिडाईको पायक पर्ने, पानीको पायक पर्ने ठाँउहरुमा जम्मा जम्मी १५–१६ स्थानमा धर्मशाला निर्माण गरिएको इतिहास छ । जसमध्ये अधिकांस धर्मशालाहरु हाल जिर्ण र भग्न अवस्थामा छन । पथरोडाको धर्मशाला पश्चात सतकट्टास्थित धर्मशाला र त्यसपछि ढोलपोखराको धर्मशाला हुँदै कागबासाको धर्मशालामा पुगिन्छ ।


कागबासाको धर्मशाला प्राचीन पैदल मार्गको सबैभन्दा ठुलो धर्मशाला मानिन्छ । चार पाँच धर्माशालाहरु एकैस्थानमा निर्माण गरिएकाले कागवासामा एकैपटक १०–१२ परिवारहरु सहजै बास बस्ने गरेका थिए । बि।सं। २०४०–४१ सालतिरको बर्षाका कारण कागबासाको धर्मशालामा क्षति पुगेको जानकारहरु बताउछन । नुनतेलका लागी ब्रम्हदेवमण्डी आवतजावत गर्ने यस क्षेत्रका यात्रुहरुकालागी बास बस्न सहज होस् भनेर निर्माण गरिएका धर्मशालाहरु बिभिन्न व्यक्तिहरुले बनाएका थिए ।
त्यतिवेला छोरा नहुनेहरुले आफनो नाम पछिसम्म लिउन भनेर धर्मशाला निर्माण गर्ने प्रचलन थियो । अधिकाँस धर्मशालाहरु छोरा नहुने ब्यक्तिले बनाएको शिला लेखहरुमा पढन पाइन्छ । सामाजमा सकारात्मक काम गर्न चाहनेहरु र आफनो नाम राख्न चाहनेहरुले पनि धर्मशाला निर्माण गर्ने गरेका थिए । चिककिट्टे गाँउमा तीन धर्मशालाहरु छन । सो स्थानमा रहेको चारकोठे धर्मशाला डडेल्धुराका बिष्ट सेठको परिवारले निर्माण गरेको भनिन्छ अर्को धर्मशाला अमरगढी–५ छचोडाका भट्ट परिवार र तेस्रो धर्मशाला हालको अजयमेरु गाँउपालिकामा पर्ने ठिकिलाका पन्त परिवारले निर्माण गरेका हुन ।


चिरकिट्टेको धर्मशाला बि.स.१९९७ मा बनेको शिलालेखमा उल्लेख छ । यसैले यो सबैभन्दा पछिल्लो समयमा बनेको इतिहासकारहरु बताउछन । चिरकिट्टे पश्चात आउने हिटिरेको धर्मशाला काटेपछि ढल्कनाको धर्मशालामा पुगिन्छ । यो धर्मशाला नजिकै पाँच पाण्डव मध्येका भिमसेनले सिंगान पुछेको विसाल शिला छ । शिलामा पाँच औलाको छाप देख्न सकिन्छ भने यस क्षेत्रको प्रशिद्ध भागेश्वर देवता र घण्टेश्वर देवताको सिमा स्तम्भ पनि यहि धर्मशाला नजिक पर्छ । चिरकिट्टेको मुख्य उकालो काटेपछि पुगिने तेलेको धर्मशाला यस क्षेत्रकै पुरानो र प्रशिद्ध धर्मशाला हो । भौगोलिक हिसावले पनि अति सुन्दर स्थानमा रहेको तेलेको धर्मशाला सुन्दर बनावटका कारण प्राचिन कारीगरीको नमुना मानिन्छ । जनजिव्रोमा तेलेको धर्मशाला भनिए पनि यसलाई नांगनीको धर्मशालाका रुपमा इतिहासकारहरुले बर्णन गरेका छन ।
प्राचीन पैदल मार्गको सबैभन्दा पुरानो धर्मशाला मानिएको तेलेको धर्मशाला पनि कति बर्ष पुरानो हो रु एकिन थाहा हुन सकेको छैन । तर त्यसको नजिकै रामशिलाको पानी मुहान निकटमा रामशिलाको धर्मशाला बि.स.१९९० ताका छोरा नभएकोले आफुलाई पछिसम्म अरुले सम्झिरहुन भनेर हालको अमरगढी नगरपालिका–८ डकलेका कालुसिंह साँकीले जम्मा १३ बिसी अर्थात २६० रुपैयाँ खर्च गरेर निर्माण गरेको शिद्धनाथ मावि जोगबुडाका सेवानिवृत शिक्षक एवं साँकीका छोरीपट्टीका नाती नरबहादुर साँउद बताउछन । डडेल्धुराबाट ब्रम्हदेवमण्डीसम्मको पैदलयात्रा ६–७ दिन एकतर्फी हुने भएकोले प्रशस्त सामलहरु बोकेर यात्रा गर्नुपर्ने तत्कालिन समयमा ठाँउ ठाँउमा धर्मशाला निर्माण गरिएका हुन ।


रामशिलाको धर्मशाला पश्चात असौजे, निलामाटी, निङ्गलाड, घाँगरुकोट, गोगनको धर्मशाला हुँदै उमरलेक भनिने अमरलेकको धर्मशाला पैदल मार्गमा सबैभन्दा धेरै पानीको समस्या भएको धर्मशालाको रुपमा बुढापाखाहरुले सम्झिने गर्दछन । हालको परशुराम नगरपालिकाको कलेनाको धर्मशाला भन्दा तल महाभारत श्रृखंलामा अरु धर्मशाला रहेको पाईदैन । प्राचीन सम्पदा र विल्कुलै दुर्लभ इरामत मानिने धर्मशाला संस्कृतिको एक पटक अध्ययन, अवलोकन, संरक्षण र सम्बद्र्धन गर्न आवश्यक देखिन्छ । डडेल्धुरा सदरमुकामबाट घटालस्थान हुँदै जाने हो भने हरेक आधा घण्टा जतिमा अन्य धर्मशाला र केहि स्थानमा भग्नावशेषहरु भेटिन्छन । भित्रिमधेशको सलौनबाट आउने हो भने कलेनाभन्दा केही माथीबाट धर्मशालाहरु सुरु हुन्छन ।
पछिल्लो समयमा प्राचिन पैदल मार्गमा सडकको पहुँच भईसकेकोले डडेल्धुरा सदरमुकामबाट होस वा भित्रिमधेश तर्फबाट दुईदेखि तीनघण्टासम्मको यात्रामा सहजै पुग्न सकिन्छ भने पदयात्रा गरेर जान चाहनेहरु पनि प्रकृतिसंगै रमाउँदै सहजै पुग्न सक्छन । हाल सो मार्गमा पसल तथा होटेलहरु स्थापना भई नसकेकोले खाना तथा नास्ताको व्यवस्था आफै गरेर जानुपर्ने हुन्छ । भदौ देखि पछाडी मौसम अनुकुल हुने हँुदा यो रुटमा भ्रमण गर्न सहज हुन्छ ।


पछिल्लो समयमा शारिरिक र मानसिक रुपमा स्वस्थ्य हुनको लागी हाईकिंग र ट्रेकिंगको प्रचलन बढिरहेको सन्दर्भमा धर्मशाला रहेको पथरोडा–चिरकिट्टे हुँदै तेलेसम्मको रुट सुदुरपश्चिमकै उत्कृष्ट पदमार्गको रुपमा लिन सकिन्छ । यस महाभारत वन क्षेत्र र हाम्रो जनजीवनबीचको प्रत्यक्ष सरोकारका बिषयलाई अध्ययन गर्न तथा मानव धर्मको उत्कृष्ठ नमुना धर्मशालाको किम्बदन्ति र संस्कृतिको अध्ययन तथा प्रचारप्रसार गर्न यस क्षेत्रको भ्रमण गर्नु फाईदाजनक हुन्छ । अहिलेको पुस्तालाई धर्मशालाको बारेमा जानकारी दिलाउन आबश्यक छ । प्राचीन पैदल मार्ग यस क्षेत्रकै नमुना पर्यटकीय गन्तव्य बन्ने अपार सम्भावना एकातिर छ भने अर्कोतर्फ महाभारत वन हाम्रो जीवन र हाम्रो भविष्यसंग प्रत्यक्ष सम्बन्ध राख्ने हुनाले यता तिर सबैको ध्यान जानुपर्छ ।
पुर्खाले बनाएर छाडेको धर्मशाला संस्कृति अन्य मुलुकहरुमा पाइदैन । पुर्खाको नासो धर्मशालाहरुको संरक्षण आवश्यक छ । महाभारत वन क्षेत्रमा रहेका पुराना धर्मशाला अधिकांस भत्किसकेको र बाँकी रहेका पनि भत्किेने जोखिममा छन । संरक्षणको अभावमा निकट भविष्यमा धर्मशालाहरु भत्किएमा केवल धर्मशाला मात्र भत्किने छैनन् धर्मशालाका ढुंगासंगै हाम्रो इतिहास र संस्कृति भत्किने खतरा छ । धर्मशाला संस्कृतिलाई हामीले हाम्रो पछिल्लो पुस्ता समक्ष सुरक्षित रुपमा संरक्षण गरेर राखिदिनु पर्छ । होइन भने पुर्खाहरुको मानवतामुखी कार्यले हामीलाई सराप्ने छ । त्यसैले इतिहास बोकेका धर्मशाला हेर्न र संरक्षणका लागी दवाव दिन यो क्षेत्रको भ्रमण आबश्यक छ । यसको लागि पालिकाहरु र प्रदेश सरकारले संरक्षणको लागि आबश्यक नीति तथा कार्यक्रम ल्याउनु पर्छ । स्थानीय, प्रदेश र संघीय सरकारबाट महाभारत वन क्षेत्र लाई संरक्षित वनको रुपमा घोषणा गरेर व्यवस्थित योजना बनाई अझ अन्तरपालिका समन्वय गरी एकिकृत रुपमा अघि बढ्न सकेमा यस वनसंग सम्बन्धित हाम्रो जीवनको बर्तमान र भविष्य सुरक्षित हुनेछ ।

You might also like