परशुराम धाम

अरु धाम पटकपटक, परशुराम धाम एकपटक

शव्दः अमृत भादगाउले
तस्विरः गणेशबहादुर मगर

हिन्दुग्रन्थ स्कन्द पुराणमा महाकालीको ‘विष्णुपुर’ बारे चर्चा गरिएको छ । विष्णुपुर तीर्थ परशुराम नगरपालिका–५, डडेल्धुराको परशुराम धाम हो । यसलाई चक्र तीर्थ भनिन्छ, जहाँ स्नान गरेमा सबै पाप नाश हुने र स्वर्गनजिकै विष्णुलोक पुगिने जनविश्वास छ । रंगुन (ऐला) र महाकाली (श्यामा) नदीको सङ्गममा अवस्थित छ, परशुराम धाम । रंगुन पूर्वबाट पश्चिम बगेकी छिन् भने महाकाली उत्तरबाट दक्षिण ।


परशुराम धामको महिमा ठुलो छ । त्यसैले जनबोलीमा ‘अरु तीर्थ पटकपटक, परशुराम धाम एकपटक’ भनिन्छ । महाकाली किनारमा स्यानो टापु छ । टापुको बलौटे माटो कालो देखिन्छ । त्यसलाई परशुरामले यज्ञ गर्दा डढाइएको चरु मानिन्छ । उहिल्यै यहाँ देवसभा हुँदा भगवान परशुरामलाई अजम्बरी हुने बरदान मिलेको थियो । भगवान विष्णुका दश अवतारमध्ये परशुराम छैटौं हुन् । सप्तऋषिमध्येका एक जमदग्निका छोरा । उनले शिवको तपस्या गरे । भगवान खुसी भएर बन्चरो उपहार दिए । त्यसैले परशुरामलाई ‘बन्चरो बोक्ने राम’ पनि भनिन्छ ।
विष्णुपुरमा तपस्या गरेर उनी चिरञ्जीवी बने । यहाँ उनले भीष्म पितामह, द्रोणाचार्य र कर्णलाई धनुर्विद्या सिकाएका थिए । त्यति मात्र होइन, असुरहरूको विनाश गरेर पृथ्वीलाई पटकपटक अधीनमा लिएका थिए ।

उनले आफ्नो बन्चरो हिर्काएर तीन हात लम्बाइ, तीन हात चौंडाइ र तीन हात गहिराइको कुण्ड बनाए । त्यसमा विश्वकर्माले विष्णुको मूर्ति राखे । आज कुण्ड देखिँदैन । नदी किनारमा एउटा द्वार छ । यसलाई युधिष्ठिर स्वर्ग जानुअघि छिरेको धर्मद्वार भनिन्छ । द्वार छेउमा उम्रिएको बाबियो गाँठो पारेमा मनोकामना पूरा हुने, प्रेम सफल हुने र भाग्य बलियो बन्ने भनाइ छ । टापुमा शिवजीको मन्दिर छ । विष्णुपुरमा भगवान ब्रह्माले सत्य युगमा रोपेको भनिएको वर र पिपल छन् । ती बिरुवा न कहिले बढ्छन् न कहिल्यै घट्छन् । तिनलाई विष्णुस्वरुप मानेर पुजिन्छ । यहाँ माघ महिनाभर मेला लाग्छ । भक्तजन कल्प बास बस्छन् ।

साथै साउने सोमबार, अक्षय तृतीया र शिवरात्रिमा पनि मेला लाग्छ । परशुराम क्षेत्रमा देउरा राख्ने घर छन् । देउरा भनेका ‘चल देवता’ हुन् । मकर सङ्क्रान्ति र सूर्यग्रहण लागेका बेला डडेल्धुराका १६ वटा शिवालयका देउरा यहाँ ल्याइन्छ । तिनलाई स्नान गराइन्छ । खिट्केश्वर, भागेश्वर, असीग्राम, बैद्यनाथलगायतका देउरा ल्याइन्छ । परशुराम क्षेत्र विकास समिति पूर्वाधार विकास गर्दैछ । यहाँ ५२ फिट अग्लो परशुरामको मूर्ति पनि बनाइएको छ । परशुराम धाममा खाजा पसल र धर्मशाला पनि छन् ।
नजिकैका परीगाउँ र जोगबुढा बजारमा भने होटल सुविधा पनि छ । कञ्जनपुरको महेन्द्रनगरबाट ४३ किलोमिटर र डडेल्धुराको बुडरबाट ४१ किलोमिटर दुरीमा पर्दछ परशुराम धाम । महेन्द्रनगर, धनगढी र डडेल्धुराबाट बिहान परशुराम धाम क्षेत्रका लागि गाडी छुट्छन् ।

You might also like
Leave A Reply

Your email address will not be published.